
ललितपुर, १९ जेठ– ललितपुर, जावलाखेलस्थित सदर चिडिया खानाबाट रेडपान्डा चोर्न खोज्ने दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धादिङका २१ वर्षीय कृष्ण गुरूङ र भारतीय नागरिक २६ वर्षीय मोहमद तफिक रहेको ललितपुर प्रहरी परिसरका एसपी चक्रराज जोशीले जानकारी दिए ।
जोशीका अनुसार रेडपण्डा चोर्न खोज्ने अरु दुई फरार छन् । चार जनाको समूहले गत ३० वैशाखको राति १० रेडपान्डा चोर्ने प्रयास गरेका थिए । चोरीबारे जानकारी पाउने बित्तिकै परिसरबाट टोली खटिएको थियो ।
प्रहरी आएपछि उनीहरु झोला, कपडा र जुत्ता छाडेर भागेका थिए ।
उनीहरु चारै जनाको सिसिटिभी फुटेजका आधारमा प्रहरीले त्यतिबेलै पहिचान गरेको थियो । चोर्न जानुभन्दा केही दिनअघि नै उनीहरुले रेडपण्डा रोख्ने स्थानको रेकी गरेको प्रहरीको भनाइ छ ।
दिउँदै चिडिया खानाभित्र गएका उनीहरु राति अबेरसम्म शौचालयमा लुकेर बसेको र सबै मानिस गएपछि रातिमा रेडपण्डा चोर्ने प्रयास गरेका थिए । ‘उनीहरुको समूहले रेडपण्डा समातेर झोलामा राखेका थिए ।
तर, रेडपण्डा कराएपछि चिडियाखानाका कर्मचारीले थाहा पाएर आएपछि रेडपण्डा त्यहीं छाडेर उनीहरु पर्खाल नाघेर भागेका रहेछन्’, एसपी जोशीले भने ।
भारतीय नागरिक तफिक स्वयम्भूमा बसेर चराको व्यापार गर्दै आएका थिए । उनले रेडपण्डा चोरेर भारत लैजाने तयारी गरेको बयान दिएका छन् ।