गैर संवैधानिक तरिकाबाट संविधानको घेरा तोड्ने कुरा अनुचितः कांग्रेस

काठमाण्डु टुडे २०८२ जेठ १९ गते १४:०६ मा प्रकाशित

काठमाण्डू, १९ जेठ– कांग्रेसले संविधानको घेरा गैर संवैधानिक तरिकाबाट तोड्नु अनुचित भएको तर्क गरेको छ । आज (सोमबार) पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकपछि बोल्दै प्रवक्ता डा.प्रकाशशरण महतले यस्तो प्रतिक्रिया दिएका हुन ।

संविधानको घेरा गैर संवैधानिक तरिकाबाट तोड्न खोजिएको बताउँदै उनले सम्बन्धित पक्षले यसलाई गम्भीरताका साथ लिनुपर्ने बताएका छन । उनले मुलुकको संविधान कसैले उपहार नदिएको र यो नेपाली जनताले निर्माण गरेको बताएका छन । कांग्रेस प्रवक्ता महतले भने, ‘हामीले संविधान संशोधनका विषयहरू अगाडी बढाउनुपर्छ भनेर सरकारले भनेको हो ।

संविधानको घेरा गैर संवैधानिक तरिकाबाट तोड्ने कुरा अनुचित हो । सम्बन्धित पक्षले यसमा गम्भीरताका साथ लिनुपर्छ भन्ने हाम्रो ठहर छ ।’ उनले जनताका प्रतिनिधिहरूले निर्माण गरेको संविधानको रक्षा गर्नु आफूहरूको जिम्मेवारी रहेको पनि बताए । प्रवक्ता डा. महतले अनुभवका आधारमा संविधानमा भएका त्रुटिहरूलाई सुधार गर्नुपर्नेमा जोड दिएका छन ।

उनले भने, ‘यो संविधान कसैले दिएको संविधान होइन, नेपाली जनताले आफैंले दिएको निर्माण गरेको संविधान हो । आफ्ना प्रतिनिधिहरूको माध्यमबाट निर्माण गरेको संविधान भएको हुनाले यो संविधानको रक्षा गर्ने जिम्मेवारी पनि हाम्रो हुन्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us