पूर्वराजा शाहको राहदानी रद्द गर्ने तयारीमा सरकार

काठमाण्डु टुडे २०८१ चैत १५ गते १२:४४ मा प्रकाशित

काठमाण्डू, १६ चैत– सरकारले हिंसात्मक आन्दोलन भड्काएको आरोपमा पूर्वराजा ज्ञानेन्द्र शाहको सेवा सुविधा खोस्ने र राहदानी रद्द गर्ने तयारी सरु गरेको छ ।

विवादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा शुक्रबार भएको हिंसात्मक प्रदर्शनपछि छानबिन गरेर यो कदम चाल्ने तयारी भएको गहृमन्त्रालय उच्च स्रोतले जानकारी दिएको छ ।

मन्त्रालय उच्च स्रोतले भन्यो, ‘पूर्वराजा ज्ञानेन्द्रकै निर्देशनमा आन्दोलन भएको छ। छानबिनपछि विदेश भाग्ने आशंकाले राहदानी रद्द गर्ने प्रक्रिया अघि बढेको छ ।’ दुई जनाको ज्यान जानेगरी भएको हिंसात्मक घटनामा संलग्नलाई कारबाही गर्न, ज्ञानेन्द्रलाई देशबाहिर जान रोक लगाउन र उनले पाउँदै आएको सुविधा खोस्न मन्त्रीहरूले प्रस्ताव गरेका छन् ।

सरकारले यो निर्णय लिने तयारी गरेको छ। शुक्रबार रातिको मन्त्रिपरिषद् बैठकमा हिंसात्मक र आपराधिक गतिविधिबारे गम्भीर छलफल भएको बालुवाटार उच्च स्रोतले जानकारी दिएको छ । शनिबार बिहानदेखि प्रहरीले प्रमाण संकलन थालेको छ । व्यक्ति हत्या, ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव र संगठित अपराधको आरोपमा अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

शुक्रबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिपूर्ण आन्दोलनमा सरकारको आपत्ति नभए पनि तोडफोड र दुई जनाको ज्यान जाने हिंसात्मक गतिविधिको अनुसन्धानमा कठोर हुन निर्देशन दिएका थिए । ज्ञानेन्द्रलाई तेस्रो पटक श्रीपेच लगाउने अभियानमा लागेको समूह अराजक बनेको छ ।

सरकारले तोकेको तीनकुने क्षेत्रमा राजावादीको प्रदर्शन उग्र हुँदा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको छ । अराजकता नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीसहित दर्जनौँ घाइते भएका छन्। अर्बौँको निजी सम्पत्ति नष्ट भएको छ। भिडले लगाएको आगोमा जलेर सञ्चारकर्मी सुरेश रजकको मृत्यु भएको छ। झडपमा सविन महर्जन गोली लागेर मरेका छन् ।

‘राजा ल्याउने अभियान’ का कमान्डर भनिएका दुर्गा प्रसाईंले सुरक्षाकर्मीमाथि गाडी चलाएर आक्रमण गरेका थिए। सुरक्षाकर्मीलाई मिच्ने गरी उनी उत्रिएपछि भिड उत्तेजित भएर ढुंगामुढा गर्न थालेको थियो। भिड अनियन्त्रित भएपछि ‘सभाका नायक’ नवराज सुवेदी भागेका थिए भने प्रसाईं गाडी लिएर हिँडेका थिए।

भिड उक्साउनेहरू हिँडेपछि अराजक व्यक्तिले निजी घरमा आगजनी गरे। प्रदर्शनकारीले जडीबुटी उत्पादन तथा प्रसोधन कम्पनीका आठ गाडीमा आगो लगाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us