
काठमाण्डू, १५ चैत– राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंले निजी सम्पत्तिमा तोडफोड नगर्न आग्रह गरेका छन । काठमाण्डूको तीनकुनेमा भएको प्रदर्शनका क्रममा निजी घरहरूमा प्रदर्शनकारीले ढुंगामुढा गरेपछि उनले सामाजिक सञ्जालमार्फत तोडफोड नगर्न आफ्ना समर्थकहरुलाई आग्रह गरेका हुन ।
तीनकुनेको प्रदर्शन स्थलबाट निस्किएका उनले सरकारले आफूहरूको मुख थुन्न खोजेको आरोपसमेत लगाएका छन् । ‘ प्रहरीकै दमनका कारण निजी सम्पत्तिमा क्षति पुग्यो । कैयन साथीहरू र प्रहरीहरू घाइते हुनुभएको छ यसप्रति दुस्ख व्यक्त गर्दै घाइते साथीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । साथै कसैको निजी सम्पत्तिमा आक्रमण नगर्न म हार्दिक अपिल समेत गर्दछु’, उनले भनेका छन् ।
उनले लेखेका छन्, ‘सरकारले हाम्रो मुख थुन्न खोज्यो । हामी शान्तीपूर्ण रुपमा कार्यक्रमस्थल जाँदै गर्दा हामी नपुग्दै प्रहरीले अश्रु ग्याँस प्रहार गर्यो । लाठी चार्ज गर्यो । अझै तीनकुनेका घरघरमा लुकेर प्रहरीले अश्रु ग्याँस प्रहार गरी हामीलाई कार्यक्रम सुरु गर्न दिएन ।’