
काठमाण्डू, १५ चैत– संसदमा प्रतिपक्षी दलहरुसँग नमिलेपछि प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित भएको छ । शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक एक बजे सूचना टाँसेर सवा एक बजेसम्म सारिएको थियो ।
त्यो समयसम्म पनि कुरा मिल्न नसकेपछि आइतबार बिहान ११ बजेसम्मका लागि सूचना टाँसेर स्थगित भएको संसद सचिवालयले जानकारी दिएको छ ।
प्रतिपक्ष दलहरुले दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएपछि हटाउनाको कारण प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा दिनुपर्ने माग राख्दै बुधबारदेखि प्रतिनिधिसभा बैठकमा अवरोध गर्दै आएका छन् ।
प्रधानमन्त्री ओलीले भने सदनमा जवाफ नदिने सार्वजनिक कार्यक्रममा बताइसकेका छन् । विपक्षीले प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदनको अवरोध कायम राख्ने बताउँदै आएका छन् ।
पटक–पटक भएका बैठकमा दुवै पक्ष आ–आफ्ना अडानबाट टसमस नहुँदा समस्याको निकास निस्कन सकेको छैन ।