
काठमाण्डू, १५ चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी मोर्चाको प्रदर्शनमा सहभागी नहुने बताएका छन ।
आज (शुक्रबार) मोर्चाले गरेको प्रदर्शनमा सहभागी नहुने उनले बताएका हुन । पूर्व प्रधानमन्त्री खनालले सभामा चार वटा पार्टीको अध्यक्षहरूमात्रै बोल्ने कार्यसूची रहेको र आफू दर्शक मात्रै बन्न नजाने बताएका छन ।
नेता खनालले भने, ‘सभामा चार वटा पार्टीको अध्यक्षहरूमात्रै बोल्ने कार्यसूची रहेछ। दर्शक मात्रै बन्न म जाँदिन । पुनरुत्थानवादी, प्रतिगामी र यथास्थितिवादी विरुद्ध भएको प्रदर्शनमा मेरो पूर्ण समर्थन छ ।’
भृकुटीमण्डपमा हुने सभालाई समाजवादी मोर्चा आबद्ध चार दलका शीर्ष नेताले मात्रै सम्बोधन गर्ने भएका छन् । सभालाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द र नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले मात्र सम्बोधन गर्ने भएका हुन् ।