सुरु भयो समाजवादी मोर्चाको प्रदर्शन

काठमाण्डु टुडे २०८१ चैत १४ गते ११:४६ मा प्रकाशित

काठमाण्डू, १५ चैत– आज (शुक्रबार) काठमाण्डूमा गणतन्त्रवादी र राजावादीहरु प्रदर्शनको तयारीका लागि ठाउँ ठाउँमा भेला हुने क्रम सुरु भएको छ ।

काठमाण्डू उपत्यकाका विभिन्न चोकहरुमा झण्डा–ब्यानरसहित नेता–कार्यकर्ताहरु जम्मा भएका छन । उनीहरु र्‍यालीसहित आ–आफ्नो पक्षको सभास्थलमा पुग्ने छन् ।

११ बजेसम्म एसईई परीक्षा रहेकाले १२ बजेदेखि मात्रै प्रदर्शन सुरु गर्ने भनिए पनि ११ बजेदेखि नै उनीहरु र्‍यालीमा मिसिएको देखिन्छ । गणतन्त्रवादीहरुले समाजवादी मोर्चाको आयोजनामा प्रदर्शनीमार्गमा सभा गर्दै छन् । यसैगरी राजसंस्था पुनर्स्थापनाको पक्षमा रहेकाहरुले तिनकुनेमा सभा गर्दै छन् ।

प्रदर्शनीमार्ग र तिनकुने दुवै क्षेत्रमा सभाका लागि मञ्च तयार भइसकेको छ । समाजवादी मोर्चाले भ्रष्टाचार र बेथितिविरुद्ध सरकारलाई खबरदारी गर्न प्रदर्शन र सभा गर्न लागेको हो भने राजावादीहरुले गणतन्त्रात्मक व्यवस्थाको विरुद्धमा प्रदर्शन गर्न लागेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us