राजावादीप्रति बाबुरामको टिप्पणीः काटिएको पुच्छर चलमलाउनुको अर्थ छैन

काठमाण्डु टुडे २०८१ चैत १३ गते १५:४७ मा प्रकाशित

काठमाण्डू, १४ चैत– पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा) नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराईले राजावादी शक्तिलाई धेरै महत्व दिनु आवश्यक नरहेको प्रतिक्रिया दिएका छन ।

आज बिहिबार दाङ देउखुरीको राप्ती उपत्यकामा आज आयोजित कार्यक्रममा उनले राजावादी शक्ति अहिले चलमलाउनुले कुनै अर्थ नराख्ने बताएका हुन ।

अध्यक्ष डा. भट्टराईले राजसंस्था मरिसकेको टिप्पणी गर्दै भने, ‘बाख्रा काटिसकेपछि उसको पुच्छर मात्रै हल्लिन्छ, यसले कुनै अर्थ राख्दैन, यो शक्तिसँग डराउनु वा महत्व दिनु आफैंमा मुर्खता हो ।’ ठूलो त्याग र बलिदानबाट प्राप्त राजनीतिक उपलब्धी गुम्ने सम्भावना नरहेको भन्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनुपर्ने समेत बताएका छन ।

राजावादीप्रति कडा टिप्पणी गरेका भट्टराई दाङ सदरमुकाम घोराही पुग्दा राजावादी युवाहरुले कालोझण्डा देखाएका थिए ।घोराही पुग्नुअघि पूर्वप्रधानमन्त्री डा. भट्टराईले देउखुरीको मौरीघाटस्थित लुम्बिनी प्रदेश सरकारको प्रशासनिक केन्द्र अवलोकन गरेका थिए ।

सो अवसरमा उनले संघीयता कार्यान्वयनका लागि भौतिक संरचनासँगै आर्थिक, सामाजिक र राजनीतिक पूर्वाधारहरूको पनि महवपूर्ण भूमिका रहेको बताए । लुम्बिनी प्रदेशले गरिरहेको पूर्वाधार विकासको काम छिटो सम्पन्न हुने उनले विश्वास व्यक्त समेत गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us