
काठमाण्डू, १४ चैत– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट पनि सर्वोच्च अदालतमा दर्ता भएको छ । आज बिहिबार दिउँसो सर्वोच्च अदालतमा दर्ता रिटमा शाक्यले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङको कार्यकाल बाँकी नै नभएको बताएका छन ।
यसअघि २५ साउन २०७८ मा तत्कालीन सरकारले त्यसबेलाका कार्यकारी निर्देशक शाक्यलाई जल तथा ऊर्जा आयोगमा तानेर कुलमान घिसिङलाई सो पदमा नियुक्त गरेको थियो ।
सरकारको त्यो निर्णयको विरुद्धमा शाक्यले सर्वोच्चमा रिट हाले पनि चार वर्षसम्म त्यसमाथि सर्वोच्चले फैसला दिएको छैन । आफ्नो कार्यकाल बाँकी रहँदाको बखत नियुक्त भएका कुलमान घिसिङको नियुक्ति नै अवैधानिक भएकाले अहिले उनको कार्यकाल बाँकी नै नरहेको जिकिर हितेन्द्रको छ ।
‘शाक्यको कार्यकाल साढे तीन वर्ष भन्दा लामो समय बाँकी नै रहँदा घिसिङलाई कार्यकारी निर्देशक नियुक्ति गरिएको रहेछ । अहिले फेरि घिसिङलाई हटाएर शाक्यलाई नियुक्ति दिइएको छ ।
त्यसमा घिसिङले आफ्नो कार्यकाल बाँकी छँदै हटाइयो भन्न मिल्ने अवस्था होइन,’ यो मुद्दामा काम गरेका एक जना अधिवक्ताले भने, ‘शाक्यको पदावधि बाँकी छँदै नियुक्त भएका घिसिङको कार्यकाल बाँकी रहन सक्दैन, र अहिले शाक्यलाई नियुक्त गर्ने विषयमा त्यो हानिकारक हुन सक्दैन भन्ने हाम्रो तर्क छ ।’
अहिले शाक्यको ठाउँमा अरु कसैले नियुक्ति पाएको भए घिसिङले कार्यकालको प्रश्न उठाउन ठाउँ हुने भए पनि शाक्य नै नियुक्त भएर आएकाले त्यो नरहने उनको तर्क छ ।