
काठमाण्डू, १३ चैत– प्रधानमन्त्री केपी ओलीले माओवादी केन्द्रलाई थकित शक्तिको संज्ञा दिएका छन् ।
पार्टीनिकट युवा संघले बुधबार राजधानीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले माओवादी ‘उपद्रो मच्चाएर थाकेर बसेको शक्ति’ भएको टिप्पणी गरे ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई राजावादीको संज्ञा दिए । रास्वपा थोत्रो प्रणाली बोकेर हिँड्ने शक्तिको भएको आरोप लगाए । युवाका कुरा गर्नेले ८८ वर्षका वृद्धलाई अघि सारेको टिप्पणी उनको थियो ।
पूर्वराजा ज्ञानेन्द्र शाहले दुवै राप्रपासहित विभिन्न राजावादी समूहलाई एकीकृत गर्न ८७ वर्षीय पूर्वपञ्च वयोवृद्ध नवराज सुवेदीको नेतृत्वमा समिति गठन गरेका छन् । ओलीको संकेत सुवेदीतर्फ थियो ।
उनले रास्वपा विपक्षी दलको बैठकमा सहभागी भएकामा आक्रोश पोखे । ‘हतियार उठाएर थाकेका । क्रान्ति गर्छु भनेर अनेको उपद्रो मच्चाएर । कति मान्छे मारेर/मराएर, विध्वंस मच्चाएर थाकेर, थकित तत्वहरूका पसिना पुछ्न किन जानुपर्यो, ?’, ओलीले भने, ‘आफूलाई नयाँ शक्ति भन्छन् नि, ७० वर्षको बुढो भयो रे नेता । ८८ वर्षका खोज्न जान्छन् ।
रास्वपाले नयाँको नाराभित्र सबैभन्दा थोत्रो सामन्तवादी प्रणाली पुनर्स्थापित गर्छु भनेको जिकिर उनले गरे । ओलीले राजतन्त्र नयाँ हुन नसक्ने बताए ।