युवा संघलाई ओली निर्देशन: राजावादीलाई बाघले झैँ झम्टिनु

काठमाण्डु टुडे २०८१ चैत १२ गते १७:०१ मा प्रकाशित

काठमाण्डू, १३ चैत– नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग नभएको बताएका छन । आज (बुधबार) एमाले निकंट राष्ट्रिय युवा संघले नेपालले आयोजना गरेको राष्ट्रिय स्वयंसेवक भेला, २०८१ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।

उनले युवा संघसँग कति तागत छ भन्ने कुरा मान्छेहरुले आँकलन नै नगरेको भए देश र जनताको लागि परिआएमा यसले प्रतिगामी शक्तिसँग जस्तोसुकै मुकाविला गरेर पनि सक्षमता देखाउनुपर्ने पनि बताएका छन । उनले भने, ‘हामीले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैको छैन। यो कुरा अझ राम्रोसँग युवाहरुले बताउन सक्छ ।

देशलाई कसैले अप्ठ्यारोमा पार्न खोजेमा युवा संघले बाघले झम्टिए झैँ झम्टन्छ।’ ‘स्वयंसेवाको यो क्रियाकलाप राम्रो थालनी हो । यस शक्तिलाई व्यवस्थित र मर्यादितरुपमा परिचालन गर्नुस् । पहिलाको युथ फोर्स जस्तै । यो एउटा निसस्त्र स्थायी टोली होस्, कोही प्रतिगामी शक्ति टाउको जुधाउन आएमा वा विकास विरोधीहरुले हाम्रा काममा अवरोध खडा गरेमा सशक्त प्रतिवाद गरोस्।’

प्रधानमन्त्री ओलीले सरकारले एउटा कर्मचारीलाई हटाउँदा केहीले छाति पिटिपिटी रोएको टिप्पणी गर्दै प्रधानमन्त्रीले जवाफ दिइरहनुनपर्ने, ‘प्रधानमन्त्रीले जवाफ दिइसक्यो । एउटा हटायो, अर्को नियुक्ति गर्‍यो। सक्कियो । त्यही हो जवाफ । उहाँहरुलाई सहयोग हुने उहाँहरुले जो भन्यो त्यही नियुक्ति गर्ने हाम्रो काम होइन।’

प्रधानमन्त्री ओलीले यही चैत १८ गतेभित्र अध्यादेशहरुलाई प्रतिस्थापन विधेयक ल्याएर पारित गर्नुपर्ने अवस्थामा त्यसलाई रोक्न विपक्षीले सदन अवरोधको काम थालेकामा चिन्ता व्यक्त गरे । विपक्षीलाई आग्रह गर्दै प्रधानमन्त्रीले भने, ‘यति सस्तो, यति हल्का र यति उत्ताउलो नहुनुस् तपाईँहरु । प्रधानमन्त्रीका सवालमा जथाभावी नबोल्नुस् ।

आखिर तपाईँहरु चिसै पानीले नुहाउनुपर्छ । हामी न मात्तिछौँ । न आत्तिन्छौँ । धैर्यपूवर्क अगाडि बढ्छौँ।’ कार्यक्रममा एमालेका महासचिव शङ्कर पोखरेल, जनसङ्गठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, पोलिटब्युरो सदस्य महेश बस्नेत, सङ्घका अध्यक्ष क्षितिज थेबेलगायतले राष्ट्रिय स्वयंसेवक अभियानको आवश्यकताबारे मन्तव्य दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us