काठमाण्डू, १३ चैत– प्रहरीले भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ बस्ने ३२ वर्षीय लक्ष्मण खड्काको हत्या भएको गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सर्लाही लालबन्दी नगरपालिका–९ घर भएका ३९ वर्षीय यादब पौडेल र सिन्धुली तीनपाटन गाउँपालिका–३ चकमके घर भएका २४ वर्षीय अनिश तामाङ रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।
पक्राउ परेका दुई जनाको कुटपिटबाट खड्काको हत्या भएको खुलेको प्रहरीले जानकारी दिएको छ । मध्यपुर थिमी नगरपालिका–२ सानोठिमी मगरगाउँ जाने सडकको छेउमा गत फागुन २७ गते बिहान अचेत अवस्थामा फेला परेका थिए ।
राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा उनको मृत्यु भएको थियो । पक्राउ परेकाविरुद्ध कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत भक्तपुरबाट ५ दिन म्याद थप लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।