ज्ञानेन्द्रले भारतको आडमा गद्धीमा फर्कने प्रयास गर्नु निन्दनीयः नागरिक अगुवा

काठमाण्डु टुडे २०८१ चैत ११ गते १९:१५ मा प्रकाशित

काठमाण्डू, १२ फागुन– नागरिक अगुवाहरुले पूर्वराजा ज्ञानेन्द्र शाह र उनका समर्थकको गतिविधिप्रति निन्दा गरेका छन् ।

ज्ञानेन्द्रले भारतीय पक्षको सहयोगमा राजगद्धीमा फर्कने प्रयास गरेको आरोप उनीहरुले लगाएका छन् । ज्ञानेन्द्रले व्यक्तिगत स्वार्थका लागि राजगद्दीमा फर्किन भारत सरकारको सहयोग लिन पहल गरिरहेको आरोप नागरिक अगुवाहरुको छ ।

उनीहरुले भारतले नेपालमा गरेको नाकाबन्दी बिर्सिएर ज्ञानेन्द्रले सत्तामा फर्कन भारतीय सहयोगका लागि याचना गरेको आरोप लगाए ।

‘भारतीय हिन्दूवादी कट्टरपन्थीको आडमा नेपालमा राजतन्त्र फर्काउन खोज्दा नेपालको अखण्डतामा गम्भीर घात पर्छ भन्ने हाम्रो बुझाइ हो,’ विज्ञप्तिमा लेखिएको भनिएको छ, ‘ज्ञानेन्द्र व्यक्तिगत स्वार्थका लागि विदेशी पुरातनपन्थीको शरण र आडमा १० वर्षको संविधानलाई लत्याउन खोजिरहेछन् ।’

छिमेक सम्बन्ध तथा बाह्य अन्तर्राष्ट्रिय मामिला पेचिलो बन्दै गएको सन्दर्भमा ज्ञानेन्द्र शाह र उनका समर्थकको गतिविधिले नेपालको भूराजनीति थप कमजोर बन्ने चिन्ता उनीहरुले व्यक्त गरे ।

नेपालको संविधान २०७२ संघीय लोकतान्त्रिक र धर्मनिरपेक्षताको आधारमा निर्मित दस्तावेज भएको भन्दै उनीहरुले त्यसलाई कमजोर बनाउने कुनै पनि प्रयासले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने चेतावनी दिएका छन् ।

राजतन्त्र माग गर्ने राप्रपा सांसदहरुको मागसम्बन्धी अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउन माग गरे । ‘एकाध सांसदलाई लाग्दैमा संविधानविरुद्धको राजतन्त्र माग गर्ने स्थान होइन, संसद । सीमा बाहिर गएर उठाइएको अनर्गल विषय संसदीय दस्तावेजबाट हटाइनुपर्छ’, विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा कनकमणि दीक्षित, सुशील प्याकुरेल, मोहना अन्सारी, राजन कुइँकेल, दिनेश त्रिपाठी, रिता परियार, चिरञ्जीवी प्रसाईँ र हिरा विश्वकर्माले हस्ताक्षर गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us