काठमाण्डू, १२ चैत– काठमाण्डूको कलंकीस्थित एलआरआई स्कुल नजिकै हिजो (सोमबार) साँझ ग्याङफाइटमा हुँदा एक जनाको हत्या भएको छ ।
प्रहरीले उक्त हत्या भएका व्यक्तिको अनुसन्धानका लागि प्रहरीले १५ जनालाई नियन्त्रणमा लिएको छ । ग्याङफाइट भएको सूचना पाएलगत्तै प्रहरी वृत्त कालीमाटी, जिल्ला प्रहरी परिसर काठमाण्डू र काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विभिन्न स्थानहरुबाट १५ जनालाई नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा लिइएकाहरुल मध्ये हत्यामा क–कसको संलग्नता छ भन्ने विषयमा स्क्रिनिङ गर्ने काम भइरहेको परिसरका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले जानकारी दिएका छन । ग्याङफाइटमा परेर काठमाण्डूको ढुंगेअड्डा बस्ने २२ वर्षीय अभय गोलेको मृत्यु भएको थियो । गम्भीर घाइते रहेका उनलाई कलंकीस्थित शहीद ममोरियल अस्पताल लगिए पनि डाक्टरले राति ८ बजे मृत घोषित गरेका थिए । सोमबार साँझ साढे ७ बजेतिर एलआरआई स्कुल नजिक झडप भएको थियो ।
प्रहरीका अनुसार होलीको दिनको घटनालाई लिएर दुई समूहबीच विवाद भएको थियो । विवाद भएपछि २१ वर्षीय रोहित खड्का, बिनय लामा, पर्वित श्रेष्ठले रड, खुकुरी, नक र मुक्का प्रहार गरेको प्रहरीको भनाइ छ ।
झडपममा घाइते भएका नागढुंगा बस्ने २३ वर्षीय सन्दीप भुजेल, हटौंडा घर भई नैकाप बस्ने २२ वर्षीय चक्रे भनिने पवन तामाङ र चन्द्रागिरि नगरपालिका–१४ बस्ने २२ वर्षीय पासाङ शेर्पाको उपचार भइरहेको एसपी बोहोराले जानकारी दिएका छन ।