काठमाण्डू, ११ चैत– माध्यमिक शिक्षा परीक्षा (एसइई) मा चिट चोराउन मोबाइलको प्रयोग भएको खुलेको छ । यस वर्षको एसइई परीक्षामा चिट चोराउन मोबाइलमार्फत ‘ह्वाट्सएप’ प्रयोग भएको पाइएको छ । सुनसरी सदरमुकाम इनरुवा–९ स्थित सरस्वती मावि परीक्षा केन्द्रमा गणित विषयको एसइई परीक्षा चलिरहँदा ‘ह्वाट्सएप’ मार्फत चिट चोर्न सहयोग गर्ने गार्ड रङ्गेहात नियन्त्रणमा लिइएको छ ।
परीक्षा केन्द्रबाट ‘ह्वाट्सएप’ को प्रयोग गरी चिट चोराउने कार्यमा संलग्न दुई जना गार्डलाई पक्राउ गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिएका छन ।
परीक्षा केन्द्र अनुगमनमा पुगेको प्रजिअसहितको टोलीलाई देखेर परीक्षा गार्ड (शिक्षक)ले मोबाइल अफ गरेका थिए । उनीहरूको मोबाइल जाँच गर्दा परीक्षा केन्द्रमा खटाइएका प्रावि शिक्षकको साथमा रहेको मोबाइलबाट चिट चोर्न र चोराउन ह्वाट्सएप मार्फत च्याट गरिएको भेटिएको थियो । ह्वाटस्एपमा कुराकानी गर्दै विद्यार्थीको नाम, सिम्बल नम्बर र बोर्डिङ स्कुलको नामसहित विद्यार्थी सङ्ख्या के कति भन्नेबारे च्याट गरिएको पाइएको सुनसरीका प्रजिअ मिश्रले जानकारी दिएका छन ।
पक्राउ परेका शिक्षक श्रवणकुमार चौधरी र रमानन्द मेहतालाई परीक्षा गार्डबाट निष्कासन गरेको उनले जानकारी दिएका छन । त्यसैगरी अनुगमनका क्रममा इनरुवा–१ स्थित भगवती मावि परीक्षा केन्द्रबाट तीन जना निरीक्षकलाई नियन्त्रणमा लिएको प्रजिअ मिश्रले बताए । भगवती मावि परीक्षा केन्द्रबाट इनरुवा–५ का मुकेन्द्र यादव, रमानन्द यादव र दिनेशप्रसाद यादवलाई नियन्त्रणमा लिइएको सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिएका छन ।
पक्राउ परेका माथि थप अनुसन्धान भइरहेको तिम्सिनाले जानकारी दिएका छन । यसैबीच परीक्षा केन्द्रमा मोबाइल प्रवेशको विषयलाई लिएर सुनसरी प्रशासनले चेकजाँचमा कडाइ गर्न निर्देशन समेत दिइएको छ ।
सुनसरीको दुहवीबाट अघिल्लो दिन प्रजिअले विद्यार्थीबाट जनही १० हजार रकम लिने दुई गार्डलाई निष्कासन गरेको थियो । परीक्षा मर्यादित बनाउँदै चिट चोर्ने र चोराउने प्रवृत्तिलाई निरुत्साहित गर्नेगरी परीक्षा केन्द्र लक्षित अनुगमन टोली परिचालन गरिएको सुनसरीका प्रजिअ मिश्रले जानकारी दिएका छन । निरीक्षकले ‘ह्वाट्सएप ग्रुप’ बनाएर भित्रको प्रश्नपत्र बाहिर पठाएर बाहिरबाट सबै प्रश्नको उत्तर लेखेर पठाउने र विद्यार्थीलाई सिकाउने गरेको पाइएको हो ।
यसअघि गत बिहीबार मात्रै सुनसरीकै दुहबीको सरस्वती माध्यमिक विद्यालय र गढीको सरस्वती माध्यमिक विद्यालयबाट दुईरदुई जना निरीक्षकलाई निष्कासन गरिएको थियो । सुनसरीका प्रजिअ मिश्र नेतृत्व टोलीले अनधिकृत गतिविधि गरेको र विषय शिक्षक राखेको भेटिएपछि निष्कासन गरिएको थियो ।
दुवै परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई आगामी दिनमा त्रुटि नगर्न सचेत समेत गरिएको उनले जानकारी दिए । परीक्षालाई व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन सबै परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई आवश्यक सकुर्लर गरिएको पनि उनले बताए ।