
काठमाण्डू, ९ चैत– पूर्वराजा ज्ञानेन्द्र शाहले पुर्खाको थलो गोरखा आउन पाउँदा आफूलाई निकै खुसी लागेको प्रतिक्रिया दिएका छन । आज शनिबार गोरखाको गोरखकाली मन्दिर पूजाअर्चना पुगेका बेला सञ्चारकर्मीसँगको प्रतिक्रिया दिँदै पूर्व राजा शाहाले यस्तो बताएका हुन ।
पूर्वराजा शाहले भने, ‘गोरखा आएर मलाई खुसी लाग्यो आफ्नो जन्म थलो त होइन तर पुर्खाको थलो हो। सबैलाई भेट्दा पनि खुसी लागेको छ ।’ उनले अहिले देशमा शान्ति चाहिएको बताउँदै कसैले कसैको पनि कुभलो चिताउन नहुने पनि बताएका छन ।
पूर्वराजा शाहले भने, ‘अहिले देशमा शान्ति चाहिएको छ, कसैले कसैको पनि कुभलो नचिताओस्, भलो चिताओस् र केही खराब नचिताओस् भन्ने मेरो कामना छ। कोही पनि केही गर्नलाई डराउनु पर्दैन ।
देशको शान्ति कायमै होस्, देशमा विकास होस्। सबैलाई सुख र समृद्धि होस् भन्ने कामना छ ।’ पूर्वराजा शाह मनकामना मन्दिर र गोरखकाली मन्दिरमा पूजाअर्चना गर्न गोरखा पुगेका हुन् ।