न्यायको खोजीमा छिमेकीबाटै बलात्कृत महिला

काठमाण्डु टुडे २०८१ चैत ८ गते १०:४५ मा प्रकाशित

काठमाण्डू, ९ चैत– सर्लाहीको हरिवन नगरपालिका–१, भोक्टेनीमा एक ४५ वर्षीय महिला आफ्नै छिमेकीबाट बलात्कृत भएकी छन । फागुन २१ गते राति स्थानीय जिवछ महतो कोईरीले घरमा कोही नभएको मौका छोपी जबरजस्ती करणी गरेका पीडित महिलाले बताएकी छन । पीडित महिलाले फागुन २२ गते इलाका प्रहरी कार्यालय, हरिवनमा लिखित उजुरी दिएकी थिइन् ।

उजुरीका आधारमा प्रहरीले प्रारम्भिक अनुसन्धान अघि बढाउँदै सोही दिन अभियुक्त जिवछ महतोलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जानकारी दिएको छ ।

तर, घटनाको एक दिनअघि अर्थात् फागुन २० गते अभियुक्त जिवछ महतोकी आमाको निधन भएको थियो । यही कारण देखाउँदै हरिवन–४, सासापुरका इन्द्रदेव महतोले काज किरिया सम्पन्न भएपछि पुनः उपस्थित गराउने सर्तमा अभियुक्तलाई हाजिरी जमानीमा छुटाएका थिए । तर, काज किरिया सम्पन्न भए पनि जिवछ महतो प्रहरी समक्ष हाजिर नभई फरार भए ।

अभियुक्त फरार भएपछि पीडित महिलाले चैत्र ४ गते औपचारिक रूपमा जाहेरी दर्ता गराएकी छिन् । हाल अभियुक्त महतो र जिम्मेवारी लिएका इन्द्रदेव महतो दुवै फरार रहेका छन । प्रहरीले अभियुक्तको खोजी तीव्र पारिएको दाबी गरे पनि पीडित परिवारले घटनालाई ढाकछोप गर्ने प्रयास भइरहेको आरोप लगाएका छन् ।

पीडित महिलाका छोराका अनुसार, केही स्थानीय नेताहरूले १५ लाख रुपैयाँको सेटिङ मिलाइदिने भन्दै उल्टै पीडितलाई प्रलोभन दिने प्रयास गरिरहेका छन् । छिमेकीबाट भएको यो जघन्य अपराधमा न्यायको खोजी गरिरहेका पीडित परिवार निराश छन् ।

पीडित महिलाको सुरक्षाको सवाल उठिरहेका बेला अभियुक्तलाई चाँडो पक्राउ गरी कानुनी कारबाही गर्नुपर्ने माग बढ्दै गएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us