सरकारले संविधान संशोधनका एजेन्डा बाहिर ल्याउन सकेनः एनपी साउद

काठमाण्डु टुडे २०८१ चैत ७ गते १७:३३ मा प्रकाशित

काठमाण्डू, ८ चैत– सत्ताको प्रमुख घटक दल कांग्रेसका नेता एपी साउदले दुई तिहाइको सरकारले सात बुँदे सहमतिमा उल्लेख गरिएको संविधान संशोधनका लागि एक पाइला पनि चाल्न नसकेको दाबी गरेका छन ।

आज (शुक्रबार) कांग्रेस मोरङ–काठमाण्डू सम्पर्क समितिले शुक्रबार आयोजना गरेको ‘देशको वर्तमान अवस्था, चुनौतीहरू र नेपाली कांग्रेसको भूमिका’ विषयक अन्तरक्रियामा उनले सत्तारुढ गठनबन्धका तर्फबाट पनि संविधानका एजेन्डाहरू बाहिर ल्याउने काम गर्न नसकिएको बताएका हुन ।

कांग्रेस नेता साउदले भने, ‘आज संविधान संशोधनको बाटोमा पनि दुईतिहाइको सरकारले पहिलो पाइला पनि चाल्न सकेको छैन, ‘सत्तारुढ गठनबन्धकै तर्फबाट पनि संविधानका केही एजेन्डाहरू बाहिर ल्याउने काम हामीले गर्न सकेका छैनौँ ।’ सरकार गठनका बेला कांग्रेस–एमालेले सात बुँदे सहमति पत्रमा काइते शैलीमा संविधान संशोधन उल्लेख गरेको पनि टिप्पणी गरे ।

‘कानुनी भाषामा अलिअलि काइते भन्ने शब्द प्रयोग गरिन्छ । त्यही काइते शब्दावलीमा सात बुँदेको २ नम्बरमा लेखिएको थियो– संविधानका सफल पक्षहरूलाई बलियो बनाउने, र कमिकमजोरीलाई हटाउने भनेर लेखिएको थियो,’ साउदले भने, ‘एजेन्डा खोलिएको थिएन। शासकीय स्वरुपका बारेमा एजेन्डा खोलिएको थिएन ।

समानुपातिकका बारेमा एजेन्डा खोलिएको थिएन । अन्य कुराका बारेमा पनि एजेन्डा खोलिएको थिएन। त्यसलाई अमुर्त रुपमा मात्रै प्रवेश दिएर प्रतिवद्धता व्यक्त गरिएको अवस्था थियो ।’ साउदले कांग्रेस–एमालेबीच भएको सात बुँदे सहमति विस्तार–विस्तारै विस्मरणमा जान लागेको पनि टिप्पणी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us