लेखा समितिको सभापति माओवादीले पाउनुपर्छः प्रचण्ड

काठमाण्डु टुडे २०८१ चैत ७ गते १५:१४ मा प्रकाशित

काठमाण्डू, ८ चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब आफु ०८४ को निर्वाचन सम्म प्रधानमन्त्री नबन्ने घोषणा गरेका छन । साथै अध्यक्ष प्रचण्डले अब आफू २०८४ सम्म जनताकै साथमा रहने बताए । आज (शक्रबार) वीरगञ्जमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले यस्तो बताएका हुन ।

अध्यक्ष प्रचण्डले वर्तमान सरकार भ्रष्टाचारीहरूलाई जोगाउनका लागि बनेको आरोप समेत लगाएका छन । प्रचण्डले आफ्नो नजरमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार नराम्रो काम गर्नका लागि बनेको पनि बताएका छन ।

उनले भने, ‘मेरो नजरमा ओली सरकारको काम नराम्रो छ । उहाँहरूको काम भनेको भ्रष्टाचारीलाई बचाउने मात्रै छ । राम्रो काम गर्नेहरुलाई सताउने, अपमानित गर्ने, नराम्रो काम गर्नेलाई पुरस्कृत गर्ने नै केपीजीको सरकारको काम हो । त्यो कुरा कुलमानको कुराबाट सजिलै बुझ्न सक्नुहुन्छ ।’

प्रचण्डले वर्तमान सरकारले भ्रष्टाचारी जोगाउने, बेथिति र अराजकता बढाउने काम गरिरहेको आरोप समेत लगाएका छन । ‘लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी माओवादीले पाउनुपर्ने हो, त्यो छैन । लेखा समितिको सभापतिलाई ठूला ठूला आरोप लागेका छन्, तपाईंहरूलाई थाहा छ, उहाँलाई चोख्याउनको लागि प्रधानमन्त्रीले पूरै तागत लगाउनुभएको छ’ उनले भने, ‘उहाँको काम भ्रष्टाचारी जोगाउने, बेथिति र अराजकता बढाउने भएको छ ।’ प्रचण्डले सरकारमा हुँदा एउटा र प्रतिपक्षमा हुँदा अर्को भन्नेकुरा माओवादीलाई लागु नहुने दाबी गरे ।

सरकारमा हुँदा भ्रष्टाचारविरुद्धको आन्दोलन छेडेको जिकिर गर्दै उनले भने, ‘आर्थिक विकासको निम्ति गति दिने कुरामा हामीले सरकारमा हुँदा जोड दिएका थियौं,’ उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us