थारू, मुस्लिमलगायत समुदायको आरक्षणको माग सम्बोधन हुन्छः प्रधानमन्त्री

काठमाण्डु टुडे २०८१ चैत ६ गते १६:२९ मा प्रकाशित

काठमाण्डू, ७ चैत– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय निजामती सेवा ऐन जारी भएपश्चात् थारू, मुस्लिमलगायतका अन्य पक्षको आरक्षणका विषय सम्बोधन हुने बताएका छन ।

प्रतिनिधिसभाको आजको बैठकमा ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रममा प्रश्नकर्ता सांसद बिनाकुमारी थनैतले थारू समुदायलाई छुट्टै वर्गका रुपमा आरक्षणको व्यवस्था नगरिएको र निजामती सेवा ऐन जारी गर्न भइरहेको ढिलाइबारे प्रश्न गरेका थिए ।

उक्त प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० पारित भएर ऐन जारी भएपश्चात् थारू, मुस्लिम लगायतका अन्य पक्षको आरक्षण लगायतका विषय सम्बोधन हुने बताएका छन । उनले भने, ‘उक्त विधेयक माथि अहिले संसद्को राज्य व्यवस्था समितिमा दफावार छलफल भइरहेको छ ।

निजामती सेवा ऐनमासमेत थारू समुदायलाई आदिवासी समुदायमा राखी आरक्षणको अवसर प्रदान गरिएको छ ।’ वर्तमान सरकार गठन भएपश्चात् मन्त्रिपरिषद्बाट विभिन्न सार्वजनिक पदमा नियुक्ति गर्ने क्रममा समावेशी सिद्धान्तलाई अवलम्बन गरिएको उनले सांसदहरुलाई जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us