म्याग्दीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ जना घाइते

काठमाण्डु टुडे २०८१ चैत ६ गते १४:४० मा प्रकाशित

काठमाण्डू, ७ चैत– पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

सुङ्ग्रेपानीबाट मालिका–४, चिउरीबोटतर्फ जाँदै गरेको ग-१ ज ५६१२ नम्बरको जीप सडकबाट ५० मिटर तल खस्दा चिउरीबोटका ३१ वर्षीय नगेन्द्र रसाइलीको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिएका छन । जीपमा चालकसहित ५ जना सवार रहेको खुलेको प्रहरीले जानकारी दिएको छ ।

घाइते भएका ओखरबोटका ३३ वर्षीय शेरबहादुर विक, चिउरीबोटका ३१ वर्षीय नगेन्द्र गोतामे र २२ वर्षीय भीमप्रसाद गोतामेको दरबाङ आधारभूत अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चालकको लापरवाहीका कारण दुर्घटना भएको हो । घटनास्थलमा इलाका प्रहरी कार्यालय दरबाङको टोली पुगेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us