काठमाण्डू, ७ चैत– यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबारबाट सुरु भएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रमा बिहीबार बिहान ८ बजेदेखि एसइई सञ्चालन भएको हो ।
परीक्षा तालिकाअनुसार पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन भएको छ । एसईईमा यो वर्ष ५ लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी भएको बोर्डले जनाएको छ । गत वर्षको तुलनामा यो संख्या ४९ हजार २ सय ८६ ले बढी हो ।
परीक्षामा १ सय ५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एकजना सहायक केन्द्राध्यक्ष र २० जना विद्यार्थी बराबर एकजना निरीक्षक खटाउने प्रबन्ध गरिएको छ ।
परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले १ सय ५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एकजना सहायक केन्द्राध्यक्ष हुने तथा २० जना विद्यार्थी बराबर एक जना निरीक्षक खटिने बताए ।
परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष राखिएको छैन । यस वर्षको परीक्षामा जापानको एक परीक्षा केन्द्रमा २९ जना विद्यार्थीले एसइई परीक्षा दिएका छन् । यस्तै काठमाण्डूका केन्द्रीय कारागार र दैलेखका दुई कारागार तथा भक्तपुरको बालसुधार गृहबाट पनि विद्यार्थीलाई परीक्षा दिने व्यवस्था गरिएको पौडेलले दिए ।
कीर्तिपुस्थित सफलता एचआइभी शिक्षा सदनबाट पनि विद्यार्थी सहभागी हुने भएका छन् । उक्त केन्द्रबाट चार जना एचआइभी सङ्क्रमित विद्यार्थी एसइई परीक्षामा सहभागी भएका हुन् । काठमाण्डूमा सबैभन्दा धेरै ३९ हजार छ सय र सबैभन्दा कम मनाङ्मा ४३ जनाले परीक्षा दिएका छन् । एसईई परीक्षा आगामी १९ चैतमा सकिने छ ।