काठमाण्डू, ५ चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र पक्षधर सबै शक्तिलाई एक ठाउँमा आउन आग्रह गरेका छन । आज मंगलबार सांस्कृतिक प्रतिरोध दिवसको अवसरमा काठमाण्डूमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन ।
उनले गणतन्त्र पक्षधरले गम्भीर समीक्षा गरी एक ठाउँमा आउन आग्रह गरेका हुन । प्रचण्डले भने, ‘म संविधानसभाबाट नयाँ संविधान निर्माण पक्षधरहरूलाई गम्भीर आत्मसमीक्षा गरी मिलेर जान अपिल गर्छु । गणतन्त्र पक्षधरहरू मिलेर मात्रै सबै समस्या समाधान गर्न सकिन्छ । राजावादीहरूको सक्रियताले नयाँ विचार, नयाँ सिद्धान्त र नयाँ रणनीतिको खोजी गर्ने अवसर हो ।’
कार्यक्रममा प्रचण्डले राजनीतिक रूपमा संघीय लोकतान्त्रिक गणतन्त्र एउटा युगान्तकारी उपलब्धि भएको समेत बताए । तर त्योभन्दा पनि ठुलो कुरा नयाँ संविधानमा इतिहासमै पहिलोपटक नेपाली जनतालाई सार्वभौम सम्पन्न अधिकारद्वारा सुसज्जित गरेको उनले बताए ।
आज यो व्यवस्थामाथि केही मानिसले प्रश्न उठाउने दुष्साहस गरेको भन्दै उनले राजामहाराजाहरूले अर्को दुष्साहस गरिए ठुलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन ।
प्रचण्डले भने, ‘फेरि राजामहाराजाहरूले अर्को मूर्खता नगरियोस् । यदि त्यसो गरियो भने निकै ठुलो मूल्य चुकाउनुपर्ने परिस्थिति आउन सक्छ, ‘नेपाली जनता र राजनीतिक दलहरूले उदारतापूर्वक बस्न दिएको बेला संयमित भएर बस्नुको सट्टा फेरि दुष्साहस गर्न खोजिएको छ, त्यसको परिणाम गम्भीर हुनसक्छ ।’