परराष्ट्रमन्त्री राणा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबीच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता

काठमाण्डु टुडे २०८१ चैत ४ गते १५:३५ मा प्रकाशित

काठमाण्डू, ५ चैत– परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबीच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ । भारतीय विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रमका लागि त्यहाँ रहनुभएका उहाँहरुबीच आज सो भेटवार्ता भएको हो ।

सो भेटका क्रममा नेपाल युक्रेन सम्बन्ध र आपसी हितका विविध विषयहरुमा कुराकानी भएको थियो । त्यस अवसरमा मन्त्री डा. राणाले युक्रेनी सैनिकको नियन्त्रणमा रहेका सात नेपाली नागरिकको रिहाइका लागि उहाँमार्फत युक्रेन सरकारसँग आग्रह गरेकी थिइन ।

नेपाली नागरिक रसियाली सेनामा भर्ना हुन पाउने कुनै नीति नेपालको नरहेपनि मानव तस्करहरु मार्फत् नेपालीहरुलाई लगेर रुसी सेनामा भर्ना गरिएको कुरा पछि थाहा भएको स्पष्ट गर्दै मन्त्री डा.राणाले रुसी सेनामा कार्यरत रहेका ती सात नेपाली युद्धबन्दीका रुपमा युक्रेनी सेनाको कब्जामा रहेकाले उनीहरुको रिहाइको माग गरेकी छन ।

उनीहरुलाई नेपालको दुर्गम क्षेत्रबाट जबर्जस्ती लगेर रुसी सेनामा भर्ना गरिएको सूचना नेपाल सरकारले पाएको जानकारी दिँदै उनले ती सात नेपालीको मुक्तिका लागि युक्रेनी विदेशमन्त्रीसँग आग्रह गरेकी छन । त्यस भेटका क्रममा युक्रेनी विदेशमन्त्री सिबिहाले कानुनी प्रक्रिया पूरा गरेर उनीहरुलाई रिहा गरिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

त्यस भेटका क्रममा मन्त्री डा. राणाले नेपालले सन् २०२७ देखि २०२९ का लागि संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको सदस्य लगायतमा उम्मेदवारी दिएकाले त्यसमा युक्रेन सरकारको सहयोगका लागि आग्रह गरेकी थिइन । यसैबीच यस भेटका क्रममा दुई देशकाबीचमा सरकारी एवं डिप्लोम्याटिक पासपोर्ट बाहकलाई निःशुल्क भिसासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us