राजनीतिक अस्थिरताले जनता थकित भएः विप्लव

काठमाण्डु टुडे २०८१ चैत ४ गते १५:०० मा प्रकाशित

काठमाण्डू, ५ चैत– नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले राजनीतिक अस्थिरता जनताको लागि अपाच्य भएको दाबी गरेका छन । आज मंगलबार झापाको बिर्तामोडमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्ने क्रममा महासचिव विप्लपले यस्तो बताएका हुन ।

उनले राजनीतिक अस्थिरताका कारण जनता थकित भएको पनि बताएका छन । हरेक वर्ष सरकार बन्ने र भत्किने परिस्थितिले आर्थिक भार बढेको बताउँदै उनले यस्तो बताएका हुन । उनले जनताको राजस्वबाट सरकारमा बस्ने सानो हिस्साले भोगबिलास गरिरहेको बताएका छन । उनले भने, ‘राजनीतिक अस्थिरता जनताको लागि अपाच्य भएको छ ।

जनताहरू थकित जस्तो देखिन्छन् । हरेक वर्ष सरकार विघटन, गठन हुने जे परिस्थिति बनिरहेको छ, केन्द्रमा सरकार ढल्ने बित्तिकै प्रदेशमा ढलिहाल्ने, त्यसकारण सम्पूर्ण आर्थिक भार जनताले बेहोर्नुपर्ने, हामीले रखडा गरेको राजस्वबाट सरकारमा बसेको सानो हिस्साले भोगबिलास गर्ने टाइपको बन्यो ।’

नेपालमा स्थिर राजनीतिक प्रणाली आवश्यक रहेको भन्दै ५ वर्षसम्म चल्ने एउटा प्रणाली परिकल्पना गर्न जरुरी रहेको बताएका छन । उनले भने, ‘आर्थिक क्षेत्रमा क्राइसिस भयो, राजनीतिक क्षेत्रमा पनि अराजकता, अस्थिरता सिर्जना गरेको छ ।

पहिला राजनीतिक स्ट्रक्चरमा नयाँ ढंगले सोच्नुपर्छ । नेपालमा स्थिर राजनीतिक प्रणाली आवश्यक रहेको छ । यस्तो अस्थिरता थेग्न सक्दैन । ५ वर्षसम्म चल्ने एउटा प्रणाली परिकल्पना गर्नैपर्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us