काठमाण्डू, ५ चैत– नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले प्रहरीमा व्यापक सुधार आवश्यक रहेको दाबी गरेका छन । आज मंगलबार प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह ग्रहण गरेपछि थापाले प्रहरी भित्रको सुधार आफैबाट सुर बताएका छन ।
उनले भने, ‘प्रहरी कस्तो छ भनेर हामीले लुकाउनुपर्ने केही छैन। ती पक्ष लुकाएर वा दबाएर प्रहरीमा सुधार हुन्छ भन्नेतर्फमा म विश्वास पनि गर्दिनँ। प्रहरीभित्र सुधार ल्याउन साइत कुरेर बस्न पनि जरूरी छैन, ‘सुधारको प्रारम्भ कोही र कसैबाट होइन म भित्रैबाट नै आवश्यक छ भन्ने स्वीकार गरी अघि बढ्नुको विकल्प छैन।’
उनले यही विचार मनन् गर्दै आफ्ना सहकर्मी र मातहतलाई आग्रह समेत गरेका छन । महानिरीक्षक थापाले मुलुकमा शान्ति सुरक्षाको कार्यान्वयन र मानव अधिकारको प्रत्याभूति गर्न आफू प्रतिवद्ध रहेको पनि उनले बताएका छन । उनले आफ्नो मन्तव्यमा प्रहरी कर्मचारीलाई कार्यक्षमताको उचित मूल्यांकन दिलाउने प्रयास गरे ।
मन्त्रिपरिषदको सोमबारको बैठकले थापालाई नेपाल प्रहरीको ३१ औं प्रहरी महानिरीक्षकमा नियु्क्त गरेको हो । गृहमन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले महानिरीक्षक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।