काठमाण्डू, ४ चैत– सत्ता घटक दल एमालेका प्रमुख सचेतक महेश बर्तौला वर्तमान सरकार परिवर्तन हुने कुनै सम्भावना नरहेको दाबी गरेका छन । आज सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक बर्तौलाले यस्तो बताएका हुन ।
उनले ठूला दुई दलका साथै अन्य केही दल मिलेर बनेको वर्तमान सरकार नै राष्ट्रिय सहमतिको आधारमा बनेको सरकार भएकाले सरकार परिवर्तन हुने कुनै सम्भावना नरहेको पनि बताएका छन ।
उनले सरकार परिवर्तन वा कुनै दललाई सरकारमा भित्र्याउने वा बाहिर पठाउने भन्ने विषयमा समेत कुनै बैठक नभएको बताएका छन । उनले सरकारमा आउन रुची भएकाहरूले सरकार परिवर्तनको हल्ला चलाएको पनि बताएका छन ।
उनले अहिलेको सरकार सहज ढंगले अघि बढिरहेको र यही सरकारले निरन्तरता पाउने जिकिर गरे । उनले अहिले कांग्रेस र एमालेको संयुक्त सरकार भए पनि ८४ को निर्वाचनमा एमालेले बहुमत ल्याउने गरी तयारी गर्ने पनि बताएका छन ।