पूर्वराजाले राजनीतिक खेलाडीका रूपमा मैदानमा आएँ भन्न सक्नुपर्छः सिटौला

काठमाण्डु टुडे २०८१ चैत ३ गते १५:१३ मा प्रकाशित

काठमाण्डू, ४ चैत– राष्ट्रिय सभाका कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहले आफू राजनीतिक खेलाडीका रूपमा मैदानमा आएँ भन्न सक्नुपर्ने बताएका छन । नत्र, उनले राज्यले दिएको सम्मान ग्रहण गरेर बस्नु उचित हुने उनले बताएका छन । आज सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै कांग्रेस संसदीय दलका नेता यस्तो बताएका हुन ।

सिटौलाले पूर्वराजामा सम्मान ग्रहण गर्दिनँ भन्ने आँट भए मात्रै राजनीतिक खेलाडीका रूपमा मैदानमा आएँ भन्न सुहाउने दाबी गरेका छन । सिटौलाले भने, ‘पूर्वराजा ज्ञानेन्द्रले हामीले दिएकै सम्मान ग्रहण गर्नु उचित हुन्छ, होइन भने उहाँ (पूर्वराजा)ले म राजनीतिक खेलाडीका रूपमा मैदानमा आएँ भन्न सक्नुपर्छ । नीति कार्यक्रम यो हो भनेर दलहरूजस्तै प्रस्तुत हुन सक्नुपर्छ ।’

सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहले राजा आउँछ भनेर सर्वसाधारणलाई भड्काएको भन्दै दलहरूमा दृढता नदेखिएको पनि बताएका छन । उनले भने, ‘राजा आउँछ है भन्ने सन्देश दिएर सर्वसाधारण जनतालाई भड्काउने काम भएको छ । त्यसमा परिवर्तनकारी राजनीतिक दलको जुन किसिमको दृढता हुनुपर्ने हो, त्यो देखिरहेको छैन ।’

उनले परिवर्तन पक्षधरहरू एक भएर अगाडि बढ्नुपर्ने पनि बताएका छन । उनले नयाँ संविधान जारी भएको लामो समयपछि पूर्वराजाले गाडीमा ताली खाँदै हिँड्नु शोभयनीय नभएको बताए ।

‘म आफैँ प्रधानमन्त्रीको प्रतिनिधिको रूपमा गएर तत्कालीन राजा ज्ञानेन्द्रसँग लामै संवाद गरेको, करिब एक घण्टा, उहाँलाई बडो सम्मानका साथ निवासको प्रबन्ध गरेर पठायौँ । सुरक्षाको प्रबन्ध हुन्छ भनेर ग्यारेन्टी गरेकै हो,’ सिटौलाले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us