काठमाण्डू, ४ चैत– गृहमन्त्री रमेश लेखकले पूर्वविशिष्ट पदाधिकारीको सेवा सुविधाबारे संसदलाई प्रष्टीकरण दिएका छन । आज सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन । उनले विधेयक निर्माणको प्रारम्भिक कार्य सुरुआत भएको पनि जानकारी दिएका छन ।
सर्वोच्च अदालतले कार्यकारीबाट निर्णय गरेर नभई सेवा सुविधाबारे कानुन बनाउन आदेश दिएको, संसदीय समितिले पनि यसखाले निर्देशन दिएको स्मरण गरे । पूर्वविशिष्ट पदाधिकारीको सेवा सुविधा सम्बन्धी विधेयक तर्जुमा गर्दा राज्यलाई अनावश्यक आर्थिक दायित्व नपरोस् भन्नेमा सरकार सजग रहने पनि उनले बताएका छन ।
उनले भने, ‘अनावश्यक भार पर्ने गरी गरिने छैन । तर, कानुन नबनाइ सुविधा दिने नभइ कानुन बनाएर दिने वा नदिने भए पनि त्यसबारे संसदबाटै निर्णय लिइनेछ ।’ कानुन बनाउँदा सार्वजनिक पदहरुको गरिमा र मर्यादा वृद्धि होस् र नागरिक स्वीकार्यता रहोस् भन्नेमा सरकार सचेत रहेको पनि उनले बताएका छन ।