लोकतन्त्र राजमार्ग हो, यसमा ब्याक गेयर हुँदैनः प्रधानमन्त्री

काठमाण्डु टुडे २०८१ चैत २ गते १८:०९ मा प्रकाशित

काठमाण्डू, ३ चैत– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई राजमार्गको संज्ञा दिँदै अब यसमा ब्याक गियर नलाग्ने बताएका छन । आज आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग परिसंघले आयोजना गरेको महिला नेतृत्व सम्मेलन, २०२५ को उद्‌घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।

साथै प्रधानमन्त्री ओलीले लोकतन्त्रमा ब्याक गरे भन्ने अफ्सनै नहुने पनि बताएका छन । प्रधानमन्त्री ओलीले सरकार र निजी क्षेत्रको सहकार्य बढाउँदै लगानीको प्रोत्साहन गरिनुपर्ने भन्‍दै उनले यसबाट सरकार अब पछाडि नहट्‍ने र अर्थतन्त्रको विकासका लागि सुशासनमा प्रतिबद्ध रहेको पनि बताएका छन ।

ओलीले वर्तमान गणतान्त्रिक व्यवस्था लोकतन्त्रको राजमार्ग भएको पनि बताएका छन । प्रधानमन्त्री ओलीले भने, ‘हामी अघि बढ्नुपर्छ । पछाडि फर्कनु हुँदैन । ब्याक गेयर त कहिलेकाँही घुम्तीमा मात्रै लगाउने हो ।

लोकमार्गमा ब्याक गेयर लगाइँदैन । लोकतन्त्र हाम्रो राजमार्ग हो ।’ उनले नेपाली परम्परा र संस्कृतिले महिलालाई देवीसरह मान्दै परिवर्तनशील र गतिशील शक्तिका रुपमा चित्रण गरेकाले उनीहरूको समान सहभागितामा जोड दिए ।

ओलीले भने, ‘रथको एउटा पाङ्ग्रो मात्रै चलेर गाडी गुड्न सक्दैन, त्यसकारण हामीले महिला र पुरुषससहितको समान सहभागिताबाट सिङ्गो समाजलाई अगाडि बढाउनुपर्छ । सामाजिक न्याय र समानता स्थापित गर्दै गरिबी हटाउने सवालमा निजी क्षेत्रसँग मिलेर काम गर्नुपर्छ, ‘राष्ट्रपति, प्रधानन्यायाधीशलगायत विशिष्ट पदमा हामीले महिलालाई पाइसकेका छौँ ।

राजनीतिमा महिलाको सहभागिता बढ्दो छ । हामी यसमा मात्रै सन्तुष्ट मानेर बस्नु हुँदैन । शिक्षा, उद्यम र रोजगारीमा महिलालाई अगाडि बढाउनुपर्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us