काठमाण्डू, ३ चैत– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबाहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेल जनताले नचुनेको दाबी गरेका छन ।
आज (आइतबार) प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद शाहीले उनीहरूलाई सीमित सांसदहरूले चुनेको बताएका छन । राप्रपा सांसद शाहीले वर्तमान व्यवस्था जनतालाई चाहिएको नभई ठुला बडा सबै मिलेर खानलाई चाहिएको उनले दाबी गरेका छन । गरिब जनताका लागि यो व्यवस्था उचित नभएको उनको भनाइ थियो ।
उनले गणतन्त्रमा मदन भण्डारीको हत्या गर्ने व्यक्ति, लमजुङमा शिक्षक, निर्मला पन्तलगायत घटना भएको लामो समय भए पनि हत्यारा पत्ता लगाउन नसकिएको बताए । उनले आफूहरूले राजासहितको लोकतान्त्रिक प्रजातन्त्रका लागि प्रयास गरिरहेको पनि बताएका छन ।
‘प्रजातन्त्र र लोकतन्त्र मासिन्न, राष्ट्रपतिका स्थानमा राजा राखिन्छ । राजासहितको राजतन्त्र चाहिन्छ, खुलमखुला बहस गर्न तयार छौँ,’ उनले भने ।