अदालतले तोकेको २५ हजार धरौटी बुझाउन नसक्दा कारागार चलान भएका थुनुवाको मृत्यु

काठमाण्डु टुडे २०८१ चैत २ गते १२:३४ मा प्रकाशित

काठमाण्डू, ३ चैत– मोरङमा अदालतले तोकेको २५ हजार रुपैयाँ धरौटी बुझाउन नसकेपछि कारागार चलान भएका एक थुनुवाको मृत्यु भएको छ ।

जिल्ला अदालत मोरङले धरौटीबापत मागेको २५ हजार रूपैयाँ बुझाउन नसकेपछि कारागार चलान भएका थुनुवा मोरङको पथरीशनिश्चरे नगरपालिका–४ की ३८ वर्षीय जेठा भनिने जितबहादुर देवानको मृत्यु भएको बताइएको छ ।

मोरङ कारागारका अनुसार हातखुट्टा नचल्ने समस्या देखिएपछि देवानलाई उपचारका लागि फागुन २९ गते कोशी अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा शनिबार अपराह्न मृत्यु भएको मोरङ कारागार स्रोतले जानकारी दिएको छ ।

आफ्नै घरमा आगो लगाएको घटनामा देवानलाई प्रहरीले पक्राउ गरेर आपराधिक उपद्रो मुद्दा चलाएको थियो । जिल्ला अदालत मोरङले गत मंसिर २३ गते मुद्दाको पुर्पक्षका लागि २५ हजार धरौटीमा छाड्ने आदेश दिएको थियो ।

तर, अदालतले मागेको धरौटी बुझाउन नसकेपछि उनी कारागार चलान भएका थिए । उनको मुद्दाको फैसला हुन बाँकी रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us