
काठमाण्डू, २ चैत– बाँकेको डुडुवामा रहेको जयेन्दु बाल सुधार गृहमा झडप हुँदा ४९ जना घाइते भएका छन । दुई समूहबिचको झडपमा घाइते भएकाहरूलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ ।
झडपलाई आज अपराह्न मात्र प्रहरीले नियन्त्रणमा लिएको बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले जानकारी दिएका छन । ‘दुई समूहबिच भएको झडपमा अस्पताल को–को जाने भनेर हात उठाउन लगाउँदा ४९ जना अस्पताल आएका छन्,’ जोशीले भने ।
घटनामा गम्भीर रहेका घाइते १ जना र २ जना नेपाल प्रहरीको मेडिकल कलेज नेपालगन्जमा उपचार भइरहेको पनि प्रहरीले जानकारी दिएको छ । अन्य घाइतेहरूलाई नेपालगन्जको भेरी अस्पताल लगिएको छ ।
त्यहाँ चिकित्सकले हेरेर साँझसम्म कति जनालाई डिस्चार्ज गर्ने र कतिलाई भर्ना गर्ने भन्ने यकिन हुने जोशीले जानकारी दिएका छन । झडपका क्रममा सुधार केन्द्रभित्र आगजनीसमेत गरिएको छ ।
बालबन्दीहरूले आफू बस्ने लत्ता कपडा भाँडाकुँडा र फर्निचर आगजनीमा गरेको थिए । घटनामा तीन जना प्रहरी पनि घाइते भएका छन् । प्रहरीका अनुसार बाल सुधार गृहमा गएराती सुरु भएको विवाद दुई पक्षबिचको झडपमा परिणत भएको हो ।
बालबन्दीहरूले सुधार गृहको तल्लो तलामा आगजनी गरेर ध्वस्त बनाएका छन् । बाल सुधार गृहमा २ सय ५५ बढी बाल बन्दी रहेका छन् । उनीहरू मध्ये केही पनि नभागिको र सबै प्रहरीको घेरामा राखिएको प्रमुख जिल्ला अधिकारी जोशीले बताए ।