त्रिचन्द्रमा मतपत्रमा विवाद, नेविसंघबाट बागी सभापतिका उम्मेदवार श्रेष्ठले लगाए ताला

काठमाण्डु टुडे २०८१ चैत १ गते १६:०२ मा प्रकाशित

काठमाण्डू, २ चैत– त्रिचन्द्र क्याम्पसमा स्ववियुका उम्मेदवारले नै निर्वाचन अधिकृतको कार्यालयमा ताला लगाएका छन । मतपत्रमा नाम गोलाप्रथाबाट राख्ने कि दर्ताको आधारमा राख्ने भन्नेमा विवाद भएपछि सभापतिका उम्मेदवार विवेक बानिया र श्रीधर श्रेष्ठले निर्वाचन अधिकृतको कार्यलयमा ताला लगाएका हुन ।

निर्वाचन समितिले निर्देशिका अनुसार गोलाप्रथाबाट नाम राखेर मतपत्र छपाइ गर्न खोजेको छ । नमुना मत पत्र बनाएर समितिले उम्मेदवारहरूसँग शुक्रबार छलफल पनि गरेको थियो ।

तर असन्तुष्ट बनेका सभापतिका उम्मेदवार बानिया र श्रेष्ठले ताला लगाएका हुन् । निर्वाचन अधिकृत डा. अंगद गौतमले सहमतिको प्रयास भइरहेको जानकारी दिएका छन । उनले भने, ‘निर्देशिकाले गोलाप्रथाबाट क्रम निर्धारण गर्ने भनेको छ ।

उनीहरूको क्रममा सचिव कोषाध्यक्ष र सदस्यको निर्धारण गर्ने भनेको छ । सोही अनुसार नमुना मतपत्र बनाएर छलफल गरेको हो । दर्ता क्रममा गर्ने र निर्देशिका अनुसार गर्ने भन्नेमा विवाद भएको हो ।

सहमतिको प्रयास गरिरहेका छौं,’ उनले भने । ताला लगाउने सभापतिका उम्मेदवार श्रेष्ठ नेविसंघबाट बागी उठेका थिए । तर, नेविसंघको केन्द्रले उनलाई आधिकारिता नदिएपछि स्वतन्त्र उठेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us