काठमाण्डू, २ चैत– चिकित्सक सङ्घका पूर्वअध्यक्ष डा.केदारनरसिंह केसीले आफूले कुनै सरकारी जग्गा कब्जा नगरेको बताएका छन । आज (शनिबार) आफ्नै निवासमा स्थानीय जनप्रतिधिलगायतलाई सँगै राखेर पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन ।
तारकेश्वर नगरपालिका–९, मनमैजुस्थित लोकतान्त्रिक चोकमा रहेको सरकारी जग्गा ओगटेको विषय सार्वजनिक भएपछि पत्रकार सम्मेलन गर्दै उनले आफ्नो सार्वजनिक छवि बिगार्नका लागि आफूमाथि आरोप लगाएको भन्दै कुनै सरकारी जग्गा कब्जा नगरेको उनले बताएका छन ।
उनले कित्ता नम्बर ६२ आफ्नो नाममा रहेको र कित्ता नम्बर ६२ सरकारको नाममा रहेको जिकिर समेत उनले गरेका छन । केसीले सरकारी जग्गामा आफूले भोगचलन नगरेको पनि बताएका छन ।
कित्ता नम्बर ६१ आफ्नो श्रीमतीको नाममा रहेको र उक्त कित्ता सार्वजनिक सडकमा हालेर सट्टापट्टा गरेर कित्ता नम्बर ६२ आफ्नो नाममा कायम भएको समेत उनले स्पष्ट पारे ।
केसीले अब सरकारको नाममा रहेको जग्गा नचाहिने र सरकारी जग्गा दुरुपयोग हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन । केही दिनअघि बसेको प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद सुमना श्रेष्ठ र शिशिर खनालले लोकतान्त्रिक चोकको जग्गा कांग्रेस नेताको कब्जामा रहेको आरोप लगाएका थिए । डा. केसीले आफूमाथि लगाएको आरोपले आफू नडराउने पनि बताएका छन ।