तिहारले मुलुकको अर्थव्यवस्थालाई चलायमान बनाउँछ: उपराष्ट्रपति

काठमाण्डु टुडे २०८१ कार्तिक १५ गते ८:११ मा प्रकाशित

काठमाण्डु, १५ कात्तिक– उपराष्ट्रपति रामसहायप्रसाद यादवले तिहारलगायत पर्वले मुलुकको अर्थ व्यवस्थालाई चलायमान बनाउनमा सहयोग पुग्ने बताएका छन् ।

तिहार पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै उनले पर्यावरणको दृष्टिकोणले शुभ दीपावली मनाउने क्रममा पटाका पड्काउनुले पर्यावरणमा नकारात्मक प्रभाव पर्नेतर्फ सचेत रहन अनुरोध पनि गरेका छन् ।

उपराष्ट्रपति यादवले यस पर्वले सामाजिक सौहार्दता, भाइचारा एवं राष्ट्रिय तथा सामुदायिक एकताको भावनालाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन् । ‘तिहार धार्मिक, सांस्कृतिक र सामाजिकताको दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण पर्व हो । यो एउटा पर्व मात्रै होइन नेपाली संस्कृति र परम्पराको अभिन्न हिस्सा पनि हो ।

मुख्यतः हिन्दू, जैन र सिख धर्मावलम्बीले अत्यन्तै आस्था र श्रद्धाभावका साथ यो पर्व मनाउँछन् । नेपालमा विभिन्न धर्मावलम्बीको बसोबास रहेकाले अन्य धर्मका अनुयायीहरू पनि आफ्ना इस्टमित्र र छरछिमेकीसँग मिलेर यो पर्व सौहार्दताका साथ मनाउनु हामो मौलिक विशेषता हो’, उनले उल्लेख गरे ।

तिहार विभिन्न रीतिरिवाज, रहनसहन, परम्परा र अनुष्ठान समावेश भएको विविधतामा एकताको सन्देशवाहक पर्व पनि भएको उपराष्ट्रपति यादवको भनाइ छ ।

यस पर्वका अवसरमा गरिने घरआँगनको सरसफाइ, घरघरमा दीप प्रज्वलन, धनतेरस, देउसीभैलो, कागतिहार, कुकुरतिहार, लक्ष्मी पूजा, गाई पूजा, गोवर्धन पूजा, हुर्राहुर्री, डाढ, म्हः पूजा र भाइटीका  (भ्रातृ द्वितीया) आदि यसका सांस्कृतिक विशेषताका रहेका सन्देशमा उल्लेख छ ।

‘पारम्परिक वेशभूषामा देउसी भैलो खेल्ने, मिठाई बाँड्ने, बजडी खुवाउने र सांस्कृतिक कार्यक्रमको आयोजना गर्नुले हाम्रा मौलिक संस्कृतिलाई जर्गेना गर्दै त्यसलाई जीवन्त बनाई राख्न सहयोग पुग्दछ ।

स्थान, भूगोल र क्षेत्र विशेषअनुसार यो पर्व फरक–फरक तर मौलिक परम्पराअनुसार मनाइन्छ’, उनले भनेका छन्, ‘मनाइने परम्परा र अनुष्ठानमा विविधता भए पनि त्यसको मूल उद्देश्य अज्ञानतामाथि ज्ञान र अन्धकारमाथि प्रकाशको जीतको सन्देश सञ्चार गर्नु नै हो, मुलुकमा एकता र सामन्जस्यताको सन्देश प्रवाहित गर्नु हो ।’

प्रकाशमय यो पर्वमा देवी लक्ष्मीको पूजाआराधना गरे धन, समृद्धि र सफलता प्राप्त हुने एवं दरिद्रताको नाश हुने जनविश्वास रही आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us