रास्वपाको गलत आरोप कि गृहमन्त्री रमेश लेखकको झुठो दाबी ?

काठमाण्डु टुडे २०८१ कार्तिक १४ गते २०:२१ मा प्रकाशित

पोखरा, १४ कात्तिक– गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि कुनै दुव्र्यवहार नगरिएको बताएका छन् ।

काँग्रेसनिकट पत्रकारको संस्था प्रेस युनियनले बुधबार पोखरा विमानस्थलमा गरेको पत्रकार भेटघाटमा मन्त्री लेखकले लामिछानेमाथि अभद्र व्यवहार नभएको बताए ।

आफूले लामिछानेमाथि दुव्र्यवहार भएको हल्ला सुनुपछि जानकारी लिएको भन्दै उनले उक्त हल्ला गलत भएको दाबी गरे । ‘रविजीमाथि दुर्व्यवहार भयो भनेर मैले पनि सुनें’, उनले भने, ‘त्यस्तो भएको जस्तो मलाई किन लागेको छैन भने अदालतले यसबारे कुनै टिप्पणी गरेको अवस्था छैन ।’
इजलासमै त्यस्तो व्यवहार भएको भए अदालतले पनि उक्त विषयलाई जानकारीमा लिने थियो भन्ने तर्क उनको छ । ‘त्यस्तो भएको भए अदालतले यो कुरा नोटिसमा लिन्थ्यो र त्यस्तो नगर भन्थ्यो होला’, उनले भने, ‘अदालतले केही भनेको स्थिति छैन ।’

इजलासको स्वतन्त्रता र निष्पक्षता कायम गर्ने काम इजलासकै भएको उनको भनाइ थियो । सहकारी ठगी र संगठित अपराधको अनुसन्धानका सिलसिलमा पक्राउ परेका लामिछाने कास्की प्रहरीको हिरासतमा छन् । म्याद थपका लागि ८ कात्तिकमा कास्की जिल्ला

अदालतमा उपस्थित गराइएका बेला इजलासमै हतियारधारी प्रहरीले उनीमाथि दुर्व्यवहार गरेको आरोप रास्वपाले लगाउँदै आएको छ ।

लामिछानेका कानुन व्यवसायी यज्ञमणि न्यौपानेले प्रहरीले लामिछानेलाई इजलासमै दुर्व्यवहार गरेको भन्दै ९ कात्तिकमा राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us