काठमाण्डु, १४ कात्तिक– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजावदीका अध्यक्ष माधव कुमार नेपालले नेपाली कम्युनिस्ट पार्टीमा बढ्दै गएको भ्रष्टीकरण प्रमुख समस्या भएको दाबी गरेका छन ।
आज (बुधबार) काठमाण्डुमा भएको ‘नेकपा कम्युनिस्ट पार्टीको ७५ वर्ष र आगामी कार्यभार’ विषयक अन्तर्क्रियामा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन ।
उनले भ्रष्टीकरण अन्त्य नभएसम्म समस्याको समाधान नहुने पनि बताएका छन । अध्यक्ष नेपालले भने, ‘अहिले कम्युनिस्ट पार्टीभित्र व्यक्तिवाद हाबी हुँदै गएको छ ।
स्वार्थी प्रवृत्ति बढ्दै गएको छ । भ्रष्टीकरण बढ्दै गएको छ । यो नै कम्युनिस्ट आन्दोलनको प्रमुख समस्या हो, ‘जबसम्म कम्युनिस्ट भ्रष्टाचारमुक्त हुन सक्दैन समस्याको समाधान हुन सक्दैन ।
हामी कमीकमजोरी स्विकार्न तयार छैनौँ । सर्वसत्तावादी प्रवृत्ति बढ्दै गएका छन् । कम्युनिस्ट पार्टी सर्वसत्तावादमा जाने खतरा छ ।’पछिल्लो समय पार्टी र नेताप्रति जनताको विश्वास गुम्दै गएकोतर्फ उनले चिन्ता व्यक्त गरेका छन ।
कार्यक्रममा उनले कम्युनिस्ट पार्टी अलगअलग हुनु राम्रो होइन भन्दै एक भएर देश र जनताको समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन ।