माओवादी केन्द्रको नाम प्रचण्डपन्थी राख्न बाबुरामको सुझाव

काठमाण्डु टुडे २०८१ कार्तिक १४ गते १२:०५ मा प्रकाशित

काठमाण्डु, १४ कात्तिक– पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का संयोजक डा.बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रलाई प्रचण्डपन्थी भन्नु उपयुक्त हुने बताएका छन ।

आज बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो बताएका हुन । उनले वैचारिक र सांस्कृतिक रूपले स्खलित भैसकेका प्रचण्डले क्रान्तिकारी सारतत्व र इतिहास बोकेको त्यो आन्दोलन र पार्टीलाई आफ्नो निजी संसदीय सत्ता–स्वार्थको साधनमा परिणत गरेपछि यो दुर्दशा भएको पनि बताएका छन ।

पूर्व प्रधानमन्त्री भट्टराईले माओवादी आन्दोलन केही कमीकमजोरीसहित आधुनिक नेपाल राज्य बने यताकै क्रान्तिकारी र रूपान्तरकारी आन्दोलन भएको र ०७२ सालमा संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएसँगै ऐतिहासिक कार्यभार पुरा गरेको बताएका छन ।

पूर्व प्रधानमन्त्री डा. भट्टराईले सामाजिक सञ्जाल लेखेका छन, ‘अब प्रचण्डले नेतृत्व गरेको गुटलाई ‘माओवादी’ भन्नुभन्दा ‘प्रचण्डपन्थी’ भन्नु उपयुक्त होला ।

किनकि माओवादी आन्दोलन केही स्वाभाविक कमीकमजोरी सहित आधुनिक नेपाल राज्य बने यताकै सबभन्दा क्रान्तिकारी र रूपान्तरणकारी आन्दोलन थियो, जसले २०७२ असोज ३ गते जननिर्वाचित संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएसँगै आफ्नो ऐतिहासिक कार्यभार र औचित्य पूरा गरिसकेको छ ।

परन्तु वैचारिक र सांस्कृतिक रूपले स्खलित भैसकेका प्रचण्डले क्रान्तिकारी सारतत्व र इतिहास बोकेको त्यो आन्दोलन र पार्टीलाई आफ्नो निजी संसदीय सत्ता–स्वार्थको साधनमा परिणत गरेपछि यो दुर्दशा भएको हो’ ।

भट्टराईले संविधान जारी पछिको आन्दोलनलाई आफ्नो प्रस्ताव अनुसार नयाँ युगको नयाँ कार्यभार (आर्थिक–सामाजिक) रूपान्तरण पूरा गर्न बेलैमा नयाँ समाजवादी आन्दोलन र पार्टीमा रूपान्तरण गर्नु पर्नेमा प्रचण्डकै कारण दुर्दशा भएको आरोप लगाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us