काठमाण्डु, १३ कात्तिक– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मंगलबार यातायात व्यवस्था विभागमा आकस्मिक अनुमगन गरेका छन ।
भौतिक पूवाधार मन्त्रालयका सचिव केशवकुमार शर्मा सहित मन्त्री दाहाल अपराह्न अनुगमनका लागि मीनभवनस्थित विभागको कार्यालय पुगेका थिए ।
त्यस क्रममा मन्त्री दाहालले सेवाग्राहीहरूसँग समेत संवाद गरी विभागबाट प्रवाह भई रहेको सेवाका बारेमा जानकारी लिएको मन्त्री दाहालको सचिवालयले जानकारी दिएको छ ।
सेवाग्राहीहरूले छिटो छरितो सेवा प्रवाहको वातावरण बनाई दिन आग्रह गरेका थिए । सेवाग्राहीसँग कुराकानी पछि उनले लाइन नलागी सेवा लिने व्यवस्था मिलाउन विभागलाई निर्देशन दिए ।
टोकन प्रणाली लागू गरी सेवा लिने प्रबन्ध गर्न उनले निर्देशन दिएका हुन्। यसैगरी मन्त्री दाहालले डिजिटल सवारी चालक अनुमति पत्र र इम्बोष्ड नम्बर छपाइका बारेमा पनि जानकारी लिएका छन् ।
विभागका महानिर्देशक राजीव पोखरेलले हाल दैनिक ४ हजारका दरले चालक अनुमति पत्र छपाई भई रहेको जानकारी दिए। प्रदेश स्तरबाट समेत छपाई सुरु भएकाले विभागमा चाप केही घटे पनि डिजिटल कार्ड छपाईलाई चुस्त र नियमित बनाइएको उनको भनाई थियो ।