काठमाण्डु, १२ असोज– अबिरल वर्षाका कारण काठमाण्डु उपत्यकामा धेरै क्षेत्रमा विद्युत आपूर्ति प्रभावित भएको छ ।
वर्षातका कारण भएको डुबान, बाढी तथा पहिरोका कारण विद्युत पूर्वाधारमा क्षति पुगेकाले आपूर्ति अवरुद्ध भएको हो । प्राधिकरण प्रवक्ता चन्दनकुमार घोषले उपत्यकाका करिब ५० प्रतिशत क्षेत्रमा विद्युत सेवा अवरुद्ध रहेको जानकारी दिए ।
उपत्यकामा सामान्य अवस्थामा विद्युतको माग ४ सय मेगावाट रहेकामा शुक्रबार २ सय मेगावाट मात्र माग छ । बानेश्वर सबस्टेसनअन्तर्गत ललितपुरको गोदावरी, इमाडोल, लुभु र च्यासल क्षेत्रमा विद्युत आपूर्ति बन्द छ ।
टेकु सबस्टेसनबाट विद्युत आपूर्ति दिइएका कीर्तिपुर, बागमती, ताहाचल,सुन्धारा, कालिमाटी, चक्रपथ र चमती फिडर बन्द गरिएको छ ।
नयाँ चाबहिल सबस्टेसनबाट विद्युत आपूर्ति भइरहेका हाँडीगाउँ तथा कालोपुल र स्यूचाटार सबस्टेसनबाट विद्युत आपूर्ति भइरहेका कलंकी, बलम्बु रोपवे फिडर पनि प्रभावित भएका छन् । प्रवक्ता घोषले विद्युत आपूर्ति सुचारु गर्न टोली परिचालन गरिएको बताए ।
भक्तपुर सबस्टेसनअन्तर्गत खोपासी, नलिन्चोक र बोडेमा विद्युत आपूर्ति गरिरहेका फिडर बन्द छन् ।
पाटन सबस्टेसनबाट विद्युत आपूर्ति दिइएका खुमलटार, इमाडोल, सातदोबाटो, गोदावरी, हात्तीवन, चापागाउँ,खोकना, चक्रपथ, हरिसिद्धी, रेडियो नेपाल र लुभु फिडर बन्द छन् । यस्तै लैनचौर सबस्टेसनबाट विद्युत आपूर्ति दिइएको गैह्रधारा फिडर बन्द छ ।