बाढी, पहिरोले तहसनहस पारेपछि बल्ल बोल्यो सरकार

काठमाण्डु टुडे २०८१ असोज १२ गते ११:२२ मा प्रकाशित

काठमाण्डु, १२ असोज-कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानका कारण देशभरको जनजीवन प्रभावित भएको भन्दै एकताबद्ध भएर उद्धारमा जुट्न आग्रह गरेका छन् । मानवीय क्षति र प्राकृतिक विपद्को विषम परिस्थितिमा नागरिकको सेवामा सरकार तल्लीन रहेको दाबी उनले गरे ।

यात्राका क्रममा अलपत्र परेकाहरूलाई उद्धार गरी गन्तव्यमा पुर्‍याउने प्रयास भइरहेको र त्यसका लागि गृहमन्त्रालयको समन्वयमा आवश्यक प्रयास जारी रहेको सिॅहले बताए । ‘गृहमन्त्री, सुरक्षा अंगका प्रमुख, मुख्यसचिव, सचिवसहित राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण लगायत सबैको समन्वयमार्फत विपदबाट प्रभावित व्यक्ति एवम् परिवारको सेवामा सरकारका सबै अङ्ग पूर्ण रूपमा परिचालन गरिएको उनको भनाइ छ ।

अहोरात्र  सुरक्षाकर्मीहरू उद्धार, खोज, राहत र पुनर्स्थापनामा परिचालित भइरहेको सिंहको भनाइ छ । कर्मचारी, सामाजिक सेवाका क्षेत्रमा क्रियाशील संघसंस्था, राजनीतिक दल, नागरिक समाज र स्थानीयबासी स्वःस्फूर्त उद्धारमा जुटेको पनि उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us