सिन्धुली, ११ असोज- निरन्तरको वर्षासँगै रोशी र सुनकोसी नदीमा आएको बाढीमा ३३ जना फसेका छन् । सिन्धुलीको सुनकोशी गाउँपालिका-१ दुम्जास्थित आदी लिङ्गेश्वर कुशेश्वर महादेव गुरुकुलमा अध्ययनरत २६ बटुकसहित ३३ जना रोशी र सुनकोसीको बीच भागमा फसेका सिन्धुली प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेले बताए । उनीहरुलाई सकुशल बाहिर निकाल्ने प्रयास जारी रहेको प्रहरीले जनाएको छ । तर, वर्षात नरोकिएको र पानीको सतह बढ्ने क्रम जारी रहेकाले उद्धारकार्य प्रभावित भएको छ । इलाका प्रहरी कार्यालय खुर्कोट, प्रहरी चौकी दुम्जा र सशस्त्र प्रहरी बलको टोली उद्धारमा खटिएको छ । मन्दिरको अगाडिको भागबाट रोशी र पछाडिबाट सुनकोसीको बाढी मन्दिर क्षेत्रमा पसेको एसपी काफ्लेले बताए । थप मद्धतका लागि नेपाली सेनाको टोली पनि मगाइएको छ । उनका अनुसार बाढीले सोही ठाउंका पाँच घर बगाएको छ ।