बागमतीले खतराको तह पार गर्यो, पानीको सतह अझै बढ्ने

काठमाण्डु टुडे २०८१ असोज ११ गते २१:३६ मा प्रकाशित

काठमाण्डू, ११ असोज- बागमती नदीले खतराको तह पार गरेको छ । उपत्यकाको खोकना जल मापन केन्द्रमा हालको जलसतह खतरा तहभन्दा धेरैमाथि पुगेको मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सार्वजनिक सूचना जारी गरी जनाएको छ ।

यहाँ खतराको तह ४ मिटर रहे पनि बाढी बढेर करिब पाँच मिटरमा पुगेको छ । अझै बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्रहरूमा यात्रा गर्ने र बस्नेहरूलाई शनिबार दिउँसोसम्मै उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

उपत्यकाका अन्य खोला र नदीहरूको पानी सावधानीको तहमा पुगेको छ । यस्तै साँझ बारा जिल्लास्थित पसाहा खोला, महेशपुर जल मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको जनाइएको छ ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपालका विभिन्न ३२ वटा बाढी मापन केन्द्रमा जल सतह चेतावनी तहमा पुगेको जानकारी गराएको छ। प्राधिकरणले सूचना जारी गरी कुलेखानीको ड्याम भरिनसक्ने र खोल्नुपर्ने अवस्था आउनसक्ने भएकाले तल्लो क्षेत्रका स्थानीयलाई सुरक्षित रहन अनुरोध गरेको छ ।

प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले कुलेखानी बाँधदेखि तलका क्षेत्र र रौतहट सर्लाहीसम्मका बागमती तटीय क्षेत्रमा सावधानी अपनाउन अनुरोध गरिएको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us