एपीवान टिभीमा जिबी राईको लगानी छैनः अन्नपूर्ण मिडिया

काठमाण्डु टुडे २०८१ असोज ११ गते २१:१५ मा प्रकाशित

काठमाण्डू, ११ असोज- अन्नपूर्ण ब्रोडकाष्ट मिडिया प्रालिले गितेन्द्रबाबु (जीबी) राई एपीवान टेलिभिजनको सञ्चालक नरहेको दाबी गरेको छ । स्थापनाकालदेखि नै जिबी एपीवानको सञ्चालक नरहेको बादी उक्त कम्पनीको छ ।  अन्नपूर्ण ब्रोडकास्ट मिडिया प्रालिका लेखा र व्यापार विभाग प्रमुख केशरीबल्लभ दाहाले शुक्रबार विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चार माध्यममा आएका समाचारहरूप्रति ध्यानाकर्षण भएको बताए ।

‘अन्नपूर्ण ब्रोडकाष्ट मिडिया प्रा.लि. (एपीवान एचडीटिभी) को सञ्चालनकालदेखि नै जीबी राई नामक व्यक्ति यस टेलिभिजनको सञ्चालक नभएको र निजले कुनै पनि सहकारीमार्फत् यस संस्थामा लगानी गरेको कुरामा कुनै सत्यता नभएको व्यहोरा सबैमा जानकारी गराउदछौं’ विज्ञप्तिमा भनिएको छ,’यस टेलिभिजन प्रचलित कानून बमोजिम स्थापित भई राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र मुलुकको बृहतर हित सुशासनको संरक्षण र प्रवर्द्धन गर्न पत्रकारिताको स्थापित मूल्य मान्यता बमोजिम निष्पक्ष, स्वतन्त्र टेलिभिजनमार्फत आमनागरिकलाई सूचना सम्प्रेषण गरिरहेको कुरा विदितै छ ।’

सहकारी संस्थाहरुमा भएको बचत अपचलन छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदनमा जीबी राईमार्फत एपीवान टेलिभिजनमा समेत सहकारीको रकम लगानी भएको देखिन आएको उल्लेख छ । गोर्खा मिडियाभन्दा पहिला राईले  एपीवान र नागरिक समाचार नामक अनलाइनमा आफू सञ्चालक रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीबाट रकम ल्याएर लगानी गरेको प्रतिवेदनमा छ ।        

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us