काठमाण्डु, २८ भदौ– नर्वेका सांसदहरुको एक टोली नेपाल भ्रमणमा आएको छ । उनीहरूले बिहीबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सदस्यहरूसँग छलफल गरेका थिए ।
सिंहदरबारस्थित समितिको कार्यकक्षमा भएको छलफलमा बैठकमा दुवै देशका सांसदहरूले नेपाल र नर्वेबीचको मैत्रीपूर्ण र सुमधुर सम्बन्ध तथा सहकार्यबारे चर्चा गरेका थिए ।
अन्तराष्ट्रिय सम्बन्ध समितिका सभापति राजकिशोर यादवले नर्वे र नेपालको संसदीय समितिबीच पहिलोपटक बैठक भएको उनले बताएका छन । उनले संसदीय कूटनीतिका रुपमा भ्रमण र भेटभाट भएको उल्लेख गरेका छन । बैठकमा संसदीय शासन प्रणालीको सञ्चालन, लोकतान्त्रिक प्रक्रिया तथा साझा विश्वव्यापी एजेन्डाका लागि सहकार्य गर्नेबारे कुराकानी भएको थियो ।
लोकतन्त्र, मानवअधिकार र सामाजिक न्यायका साझा मूल्यमान्यतामा मिलेर काम गर्ने प्रतिबद्धता दुवै देशका सांसदहरुले जनाएका छन । जलवायु परिवर्तनका प्रभावहरुको न्यूनीकरण र दिगो विकास लक्ष्य हासिल गर्न अन्तर्राष्ट्रिय मञ्चहरुमा सहकार्य गर्ने विषयमा पनि छलफल भएको हो । छलफलमा नर्वेका सांसदहरूले शान्ति स्थापनामा नेपालको योगदानको प्रशंसा गरेका थिए ।
उनीहरूले नेपालको ऊर्जा क्षेत्रमा सहयोग गर्न नर्वे इच्छुक रहेको पनि बताए । आगामी दिनमा दुई संसदबीच संसदीय अभ्यासका सिकाइ र अनुभव साटासाट गर्नेबारे दुवै देका सांसदहरू सकारात्मक रहेका थिए। नर्वेका पूर्वविदेशमन्त्री र रक्षामन्त्री समेत रहेकी सांसद इने म्यारी एरिक्सन सोरेइडको नेतृत्वमा १४ सदस्यीय टोली नेपाल भ्रमणमा आएको हो ।