कांग्रेसका तीन मन्त्री र एक राज्यमन्त्रीले शुक्रबार बिहान पद तथा गोपनियताको शपथ लिएका छन् ।
काँग्रेस प्रदेश महामन्त्रीसमेत रहेका प्रदेश सभा सदस्य भुपेन्द्र राई नेतृत्वमा प्रदेश सरकारमा सहभागी भएको हो । राईले भौतिक पूर्वाधारमन्त्रीको जिम्मेवारी पाएका छन् । यस्तै खगेनसिंह हाङ्गाम उद्योग कृषि तथा सहकारी र सदानन्द मण्डल पर्यटन, वन तथा वातावरणमन्त्री नियुक्त भएका छन् । भूमि राजवंशीलाई भौतिक पूर्वाधार राज्यमन्त्री बनाइएको छ । राई र राजवंशी नेता सिटौला समूह र हाङ्गाम र मण्डल संस्थापन समूहका हुन् । संस्थापन इतर शेखर कोइराला र गगन थापा समूहबाट कसैलाई पनि मन्त्री बनाइएन । कोइरालाले आफ्नो समूहले दुई मन्त्री पाउनुपर्ने अडान राख्दै आएका थिए । सोही कारण काँग्रेस प्रदेश सरकारमा सहभागी हुन ढिला भएको हो । काँग्रेसले गत १२ साउनमै एमाले नेता हिक्मत कार्की नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरिसकेको थियो ।