काठमाण्डु, २६ भदौ– एमाले सांसद् रघुजी पन्तले आफ्नो दलले झापामा व्यक्ति हत्या गरेको स्वीकार गरेका छन् ।
प्रतिनिधिसभा बैठकमा बुधबार बोल्दै उनले त्यसलाई आफूहरुले उग्रबामपन्थीको संज्ञा दिएर माफी मागिसकेको उनले बताए । ‘हामीले के स्वीकारेका छौं भने झापामा व्यक्ति हत्या भएको थियो’, पन्तले भने, ‘त्यो हाम्रो उग्रवामपन्थी गल्ती थियो भनेर हामीले स्वीकारेका छौं ।’
पन्तले संसद राजनीतिक बहसको थलो पनि भएकाले राजनीतिक हिसाबले प्रयोग भएको हिंसा शब्द संसदीय भएको तर्क गरे । उनले उक्त शब्द संसदीय भएको भन्दै सभामुखको निर्णय सही भएको भन्दै सभामुखको रुलिङ मान्दिन भन्न नपाइने बताए ।
‘०४७ पछि संसदमा आउँदा हामीलाई सांसद साथीहरुले झापामा व्यक्ति हत्या गरेर आएको र टाउको काटेको आरोप लगाउनुहुन्थ्यो । जवाफमा आफूहरुले तपाईंहरुले पनि राजालाई बम हान्नुभयो । सस्त्र (हतियार) उठाउनुभयो भनेर भन्यौं । संविधानमा सशस्त्र संघर्षको कुरा लेखिएको छ । त्यो लेखिएको कुरा, विगतमा ०७७ सालमा काँग्रेसको नेतृत्वमा कतिपय वामपन्थी नेताहरुसमेत भएर राणा शासनका विरुद्ध आन्दोलन भयो । त्यो आन्दोनलालई सकारात्मक रुपमा लिएको छ । उहाँहरुले आत्मालोकना गर्नुभएको छैन । तर,सभामुखको रुलिङमा प्रश्न उठाउन पाइँदैन’, पन्तले भने ।
पन्तले यसअघि पटकपटक संसदमा माओवादी जनयुद्धलाई हिंसा भनिएको र आफूले समेत विगतमा कयौंपटक उक्त शब्द बोलेको बताए ।