गठ्ठाघर दुर्घटना: ट्रक चालक कारागार चलान

काठमाण्डु टुडे २०८१ भदौ २६ गते १५:०१ मा प्रकाशित

काठमाण्डु, २६ भदौ– भक्तपुरको मध्यपुर थिमि नगरपालिका–३ गठ्ठाघरमा स्कुटर चालकको ज्यान गएको दुर्घटनामा पक्राउ परेका ट्रक चालक कारागार चलान भएका छन ।

ना–६ख २१७३ नम्बरको ट्रकका चालक सर्लाहीको मलंगवा नगरपालिका–२ घर भएका मलङ सतेन्द्र श्रेष्ठ पुर्पक्षका लागि कारागार चलान भएका हुन ।

अदालतको आदेशपछि उनलाई कारागार पठाइएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी मोहनमणि अधिकारीले जानकारी दिए । २४ भदौमा भक्तपुर जिल्ला अदालतका न्यायाधीश विद्यानाथ भट्टराईको इजलासले श्रेष्ठलाई कारागार चलानको आदेश दिएको थियो ।

श्रेष्ठविरुद्ध यातायात व्यवस्था तथा सवारी ऐन २०४८ को दफा १६१ को उपदफा (२) को कसुरमा मुद्दा दर्ता गरिएको थियो । उपदफा (२) मा ज्यान मार्ने मनसाय तथा उद्देश्य नराखी लापरबाही तरिकाले सवारी चलाएर कसैको मृत्यु भएमा कसुरको मात्रा हेरेर २ वर्षदेखि १० वर्षसम्म कैद हुने व्यवस्था ऐनमा उल्लेख छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us