काठमाण्डु, २६ भदौ– काँग्रेस नेता एवं सांसद् अर्जुननरसिंह केसीले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीमाथि भएको प्रहरी हस्तक्षेपको विरोध गरेका छन् ।
बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै केसीले बल प्रयोग भन्दा संवाद र सहमतिद्वारा समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।
‘कोशी प्रदेशका पूर्वमुख्यमन्त्रीमाथि प्रहरीले जुन खालको हस्तक्षेप गरेको छ’, केसीले भने, ‘सरकारलाई संवाद र सहमतिद्वारा निस्कर्षमा पुगोस भन्ने आग्रह गर्न चाहन्छु ।’
आफू मुख्यमन्त्री हुँदा प्रदेशभित्रका १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार गर्ने कार्यक्रम वर्तमान मुख्यमन्त्री एमाले नेता हिक्मत कार्कीले हटाएको विरोधमा पूर्वमुख्यमन्त्री कार्की मंगलबार विराटनगरस्थित प्रदेशसभा भवन अगाडि आमरण अनसन बसेका थिए ।
तर, निषेधित क्षेत्रमा अनसन बसेको भन्दै प्रहरीले मंगलबार राति अनसनस्थलबाट उठाएर घर लगी छाडेको थियो । त्यसको केही समयपछि फेरि कार्की राति नै समर्थकसहित पुनः अनसन बसेका छन् ।